विराटनगर । पोखरिया युथ केयर एकेडेमी, विराटनगर, मोरङको आयोजनमा जारी एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूूरा भएको छ ।
विराटनगरको परोपकारघाट मैदानमा शनिबार सम्पन्न क्वाटरफाइनल खेलबाट कोशी मोडल स्कुल र आदर्श माध्यमिक विद्यालय विजयी हुँदै अन्तिम चारमा पुगेका हुन् ।
तेस्रो क्वार्टरफाइनल खेलमा कोशी मोडल स्कुलले बिकेभिएम स्कुललाई १-० गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । कोशीको जितमा यश राज माझीले गरेको एक गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोशीका मोहम्मद मासुम म्यान अफ दि म्याच घोषित भए।
चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आदर्श माध्यमिक विद्यालयले महेन्द्र माध्यमिक विद्यालयलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । आदर्शको जितमा आदिप्त्य ढुंगेल र एलन थापाले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच आदर्शका आदिप्त्य ढुंगेल घोषित भए ।
प्रतियोगिताको सेमिफाइनल खेलहरु आइतबार हुनेछन् । पहिलो सेमिफाइनल खेल आदर्श माध्यमिक विद्यालय र नगरग्राम माध्यमिक विद्यालयबीच दिउँसो ३ बजे हुनेछ । त्यसैगरी दोस्रो सेमिफाइनल खेल डन बस्को स्कुल र कोशी मोडल स्कुलबीच दिउँसो ४ बजे हुनेछ ।
जेठ २६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल १९ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद २५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रूपैयाँ पाउनेछन् ।
