काठमाडौं । मार्वलस र भ्याली पब्लिकले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मार्वलस ब्वाइजमा तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने ।
दुवै नयाँ च्याम्पियन हुन् । दुवैले पहिलो सहभागितामै उपाधि जिते । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजेस्वी एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा मार्वलसले गोल्डेनपिकलाई ५३–४२ ले पराजित गर्यो ।
मार्वलसका सिनेप शाहीले १७ अंक जोडे । न्युटन तेश्रो भयो । गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३२–२९ ले हरायो। भ्याली पब्लिककी दृष्य गुरुङले १७ स्कोर गरिन् । फेरिल्यान्ड तेश्रो बन्यो ।
ब्वाइजमा मार्वलसका रोशन कुश्वाह तथा गर्ल्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा न्युटनका मिक्सन तामाङ तथा गर्ल्समा फेरिल्यान्डकी खुश्बु मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

ब्वाइजमा गोल्डेनपिकका सुशिल गिरी तथा गर्ल्स इबीएकी मेणुका मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा अरुणी एकेडेमी तथा गर्ल्समा केजीएस अनुशासित टिम बने । ब्वाइजमा ज्ञान संस्कार इन्टरनेसनल स्कुल तथा गर्ल्समा केएमसी स्क्ल उदीयमान टिम बने ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत र भाइस प्रिन्सिपल विश्व पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा तेजस्वीबाट एसइइमा ४ जिपीए ल्याउने रोजन श्रेष्ठ र अर्पण गुरुङलाई प्रोत्साहन स्वरुप ल्यापटप प्रदान गरिएको थियो । तेजस्वीबाट एसइइमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
विद्यार्थी र शिक्षक-शिक्षिकालाई पनि नगद पुरस्कारसहित मायाको चिनोबाट सम्मान गरिएको थियो । जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् ।
