दमक । राष्ट्रिय खेलकुद परिषदद्वारा गठित प्रतियोगिता सञ्चालन समितिको रोहबरमा जेठ ३१ गते देखि चलिरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल ९ चरणका खेल सम्पन्न भएका छ । प्रतिस्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंक र महिला राष्ट्रिय उपविजेता कृतिसरा अधिकारीले ७.५ अंक बनाउदै उपाधि नजिक पुगेका छन् ।
२६ औं पुरुष राष्ट्रिय खेल तर्फ काठमाडौका शीर्ष २०७६ रेटेड रुपेश जैसवालले ८ जीत तथा १ बराबरी खेल पस्केर स्पष्ट २ अंकको अग्रता कायम गरेका छन् । पाँचथरका २०६१ रेटेड खेलाडी रिसोन थापा ६.५ अंक जोडेर दोस्रो स्थानमा छन् । दोलखाका १९४० रेटेड आशिष् फुयाल, काठमाडौका २०३४ रेटेड सिएम पुरुषोत्तम सिलवाल र झापाका २०१९ रेटेड सुश्रुत दहाल ५.५ अंक टाइब्रेक आधारमा शीर्ष ५ तिर अग्रसर छन् ।
झापाका १९४४ रेटेड राजन सुवेदी, ज्वाला ईम्बुङ, सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका १९४८ रेटेड एआईएम अभीक शाह, खोटाङका १९६९ रेटेड धिरेन राई, काठमाडौका २००२ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र ललितपुरका १९२० रेटेड कमल श्रेष्ठ क्रमशः लामबद्ध छन् । ११ औं महिला राष्ट्रिय खेल तर्फ शीर्ष १७१० रेटेड झापाका कृतिसराले ७ जीत तथा १ बराबरी खेलि स्पष्ट १ दशमलब ५ अंकको अग्रता बनाएका छन् ।
राष्ट्रिय बी प्रतियोगिताबाट छनौट भएकी झापाकै १६४८ रेटेड पूजा भण्डारी सोन्नेवर्न वर्जर टाइब्रेक नियमका आधारमा ६ अंक २४.२५ प्वाइन्ट प्राप्त गर्दै दोस्रो स्थानमा छन् । समान अंक २१.७५ प्वाइन्ट जोडेर काठमाडौंका वर्तमान ओमन च्याम्पियन १६६६ रेटेड सिन्दिरा जोशी तृतीय स्थानमा छन् । प्रतिस्पर्धामा काठमाडौंका १५३८ रेटेड एञ्जल महर्जन, १५७२ रेटेड झापाका प्रिया क्षेत्री र काठमाडौका १६५२ रेटेड विनिता कपाली समान ५.५ अंक जोडेर शीर्ष पाँचमा अटाउने प्रयासमा छन् ।
दोलखाका १४६२ रेटेड निहाना श्रेष्ठ, बाँकेका १७०२ रेटेड ईशा गिरि, ताप्लेजुङका १५४९ रेटेड शुशीला गुरुङ, झापाका १६०३ रेटेड पुनम प्रसाईं र अनरेटेड नुमा सुब्बा प्रतिस्पर्धामा छन् । अन्तिम २ चरणको परिणाम बाकी रहँदा एफएम रुपेशले तेस्रो पटक नेपाल च्याम्पियन बन्ने बाटो लगभग निर्धारण गरिसकेका छन् ।
एफएम रुपेश र सिन्दिरा जोशी आगामी सेप्टेम्बर महिना हुन गइरहेको ४६ औं चेस ओलम्पियाड वर्तमान च्याम्पियनको हक प्राप्त गर्दै सहभागीता जनाउने सदस्य राजु ताम्राकारले जानकारी गराएका छन् । ताम्राकारले जारी प्रतिस्पर्धामा शीर्ष चार चार स्थान प्राप्त गर्ने खेलाडीहरु रुपेश र सिन्दिरासँग उज्बेकिस्तानको चेस महाकुम्भमा यात्रा पक्का गर्नेछन् ।
