काठमाडाैं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
माथिल्लाे मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो । पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।
सुशील केडिया विश्व भारती स्कुल डीएभीका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट हात पारे ।
१०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । डीएभीका लागि आरुष झा ७ रनमा तथा बिराज जैसवाल शून्य रनमा अविजित छन् । प्रसिद्ध जैशी ६ तथा सत्यम बस्नेत २ रन बनाएर आउट भएका थिए ।
वर्षा नरोकिएपछि खेल मंगलबार बिहान ७ बजेबाट सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजकले जनाएको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सहप्रायोजकमा ई–सेवा रहेको छ । एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन् ।
