काठमाडौँ । सुशील केडिया विश्व भारती स्कुल (डीएभी)ले लगातार दाेस्राेपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।
वर्षाले प्रभावित बनेको फाइनल खेलमा (डीएभी)ले नेपाल पुलिस स्कुललाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । डिएलएस मेथर्डअनुसार ७० रनकाे लक्ष्य पछ्याएले डीएभीले १०.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । खेल १२ ओभरमा घटाएकाे थियाे भने जहाँ ४.१ ओभरबाट सुरु भयाे ।
डीएभीको जितमा आरुष झा ३० बलमा ३ चौकासहित अविजित २६ रन बनाएर टोलीलाई जितसम्म पुर्याए । बिराज जैसवालले २३ बलमा २ चौकाको मद्दतमा २२ रनको योगदान दिए । प्रसिद्ध जैशीले ४ बलमा ६ रन बनाए भने सत्यम बस्नेत २ रनमा आउट भए । कमल शाही २ बलमा ३ रन जोड्दै अविजित रहे। खेलमा कमल शाही ‘पिक पाेइन्ट प्लेयर अफ द म्याच’ घाेषित भए ।
पुलिस स्कुलका प्रियान्शुकिशोर राउत र सुनिल ठाकुरले समान १–१ विकेट लिए ।
त्यसअघि मंगलबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो । पुलिसका मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।
डीएभीका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट हात पारे । १०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । याेसँगै विजेताले डीएभीले १ लाख ५० हजार रुपैयाँ तथा पुलिस स्कुलले ७५ हजारमा चित्बुझायाे। डीएभीले दाेस्राे संस्करणकाे पनि उपाधि जितेकाे थियाे ।
