काठमाडौं । टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित गर्यो । टाइम्सका कुशल शाक्यले १४ अंक जोडे । पहिलो क्वाटरमा २२–११ को अग्रता लिएको टाइम्स दोश्रोमा १४–१५ को झीनो अन्तरले पछि पर्यो । टाइम्सले तेश्रोमा २१–१३ र चौथोमा २२–१२ को अग्रता बनाउदै जित अन्तर फराकिलो बनायो ।
इन्जिनिएरिङले रोयल्सलाई अत्तिरिक्त समयमा ५४–४८ ले हरायो । निर्धारित समयको खेलमा ४६–४६ को बराबरीमा सकिएको थियो । थप गरिएको समयमा इन्जिनिएरिङले ८ तथा रोयल्सले २ स्कोर गरे । इन्जिनिएरिङका समिर उप्रेतीले २० अंक बटुले ।
महिलामा बलर्सले एनसीसीएसलाई ३३–११ ले पाखा लगायो । बलर्सकी जेसिका लामाले १३ अंक जोडिन् । दुई खेलमा बलर्सको यो पहिलो जित हो । यो समूहमा बलर्स र एनसीसीएससहित ३ टिम छन् । एक खेल खेल्न बाँकी ट्रेनिङ ग्राउन्डले पहिलो खेलमा जित दर्ता गरेको थियो । एनसीसीएसको पहिलो खेल हो । तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।
