काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन् ।

प्रतियोगिताका उच्च वरियता २२०० रेटेड खेलाडी भण्डारीले ९ चरणको खेलमा ८ जीत र एक बराबरि नतिजा प्राप्त गर्दै ८.५ अंकका साथ अपराजित विजेता बनेका छन् ।

उपाधि विजेता एफएम क्षितिज भण्डारिलाई प्रमुख अतिथि बागमती प्रदेशका सांसद मा. दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसिले नगद पुरस्कार रु. ३५ हजार, ट्रफी, स्वर्ण पदक प्रदान गरेका छन् । प्रतियोगितामा तिन जना खेलाडीले समान ७.५ अंक बनाउदा सिएम शुश्रुत दाहाले टाईब्रेक प्वाईण्टका आधारमा द्वितीय स्थान प्राप्त गर्न सफल बनेका छन् । २११९ रेटेड युवा खेलाडी शुश्रुतले नगद रु. ३० हजार, ट्रफी, रजत पदक हात पारेका छन् ।

यस्तै २०४६ रेटेड धिरेन राईले तृतीय स्थान प्राप्त गर्दै नगद रु. २४ हजार, ट्रफी, काश्य पदक प्राप्त गरेका छन् । समान ७.५ अंक जोडेका सबिनचन्द्र घिमिरे चौथो हुदै नगद रु. १४ हजार पुरस्कार थापेका छन् । स्पर्धामा आशिष फूयाँल, सिएम नवीन तण्डुकार, कमल श्रेष्ठ, सुरोज महर्जन, गणेशमान दुवालले पाँचौ देखि दशौं स्थान ओगट्दै जनही नगद रु. १० हजार पुरस्कार जिते भने एघारौं देखि पन्ध्रौं सम्मकाले जनही नगद रु. ७ हजार ५ सय, सोह्रौं देखि बिसौं सम्मकाले जनही नगद रु. ५ हजार ५ सय पुरस्कार जितेका छन् ।

यसैगरि महिला विधा तर्फ रिया श्रेष्ठ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दै १२ हजार नगद पुरस्कार हात पारेका छन् । प्रतिस्पर्धामा उमेर समूह, रेटिङ्ग समूह, अनरेटेड, उत्कृष्ट स्थानीय सबैलाई पुरस्कार प्रदान गरिएका छन् ।

पुरस्कार वितरण समारोहमा सभापति अध्यक्ष रामकुमार केसिले अन्तराष्ट्रिय फिडेद्वारा मान्यता प्राप्त प्रतियोगितामा १८१ खेलाडीको सहभागीता रहेकोमा टप २० खेलाडी तथा विधागत उत्कृष्ट गरि ४७ जना राष्ट्रिय खेलाडीहरुले कूल नगद रु. ३ लाख ३७ हजार पुरस्कार प्राप्त गरेको बताएका छन् । उनले प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकार र प्राविधिक टिमको प्रशंसा गरेका छन् ।

काठमाडौं महानगरपालिका सामाजिक बिकास परिषद् संयोजक समेत रहेका अध्यक्ष रामकुमार केसिले नागरिकको मानसिक सन्तुलन, स्मरणशक्ति, तिक्ष्ण बुद्धि, सहि योजना निर्माण लगायत विविध पक्षलाई सबलिकरण गर्न बुद्धिचाल खेललाई विद्यालय तथा बालबालिका सम्म पुर्याउन सञ्चारकर्मीहरुको साथ र सहयोग अपरिहार्य रहेको विचार राखेका छन् ।

प्रमुख अतिथि बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बौद्घिक बुद्धिचाल खेललाई हरेक नागरिकको सहज पहुँच बनाउनु पर्ने धारणा राख्दै आगामी वर्षका लागि बागमति प्रदेश सरकारको तर्फबाट २० लाख बजेट विनियोजन गरेको जनाकारि गराएका छन् ।

कार्यक्रममा विजेता खेलाडीहरुलाई फिडे रुल्स् कमिशनका काउन्सिल सदस्य उमेश केसि, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्रकार, वडा सचिव सुबोध खड्का, प्रतियोगिता निर्देशक ईन्द्रकुमार बस्नेत, सानुराज बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *