काठमाडौं । काठमाडौं जिल्ला तेश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोमा सोमबार टिम च्याम्पियन बनेको छ । काठमाडौंले ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ रामेछाप दोश्रो भयो ।
तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, ३ रजत र ४ कांस्य हात पार्यो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा रसुवा, काभ्रेपलान्चोक र मकवानपुरले समान १–१ स्वर्ण प्राप्त गरे ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका प्रमोद तामाङ तथा महिलामा काठमाडौंकै जेनिशा वाइबा उत्कृष्ट खेलाडी घोषित भए । प्रमोदले ७३ केजीमुनि तथा जेनिशाले ४८ केजीमुनि स्वर्ण जितेका थिए । प्रमोद पाम जुडो क्लब तथा जेनिशा एमएमएसीमा प्रशिक्षणरत खेलाडी हुन् ।

उत्कृष्टद्वयले जनही २० हजार नगद पुरस्कार पाए । विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुई प्रतियोगितामा ८४ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३-३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
