काठमाडाैं । आयोजक एन्जल्स हार्ट माविले दोस्राे राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा एन्जल्स हार्टले गीताञ्जलीलाई २५–११ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो ।
अन्य खेलमा हिमरश्मिले नेपाल राष्ट्रिय मावि, नेपालटारलाई २५–२२ र २५–१७, कल्याण माविले प्रारम्भलाई २५–१४ र २५–१६, एन्जल्स हार्ट नेसनल स्कुलले न्युटन ‘बी’ लाई २८–२६, १७–२५ र १६–१४, लालीगुराँस नेसनल एकेडेमीले प्रारम्भलाई २५–२३ र २५–२१, ग्रिनफिल्डले पाटन हाइ स्कुललाई २५–१२ र २५–१७ तथा हिमरश्मिले चाणक्यलाई २५–१९ र २५–२२ ले हराए ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटी आर्यालले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा तार्केश्वर नगरपालिका शिक्षा विभागका प्रमुख सुदिनराज बढाथोकी, एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुन र प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतको उपस्थिति रहेको थियो ।
लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।
प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२÷०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने प्रावधान छ ।
