दमक । ४६औं चेस ओलम्पियाड एवं २६ औं राष्ट्रिय पुरुष तथा ११ औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सातौं चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता कायम गरिरहेका छन् ।
पुरुष तर्फ एफएम रुपेश जैसवालले ६ जीत र १ बराबरी खेल प्रदर्शन गरि ६.५ अंक जोडेका छन् । वर्तमान नेपाल च्याम्पियन रेटेड रुपेशले प्रतिस्पर्धामा दबदबा कायम गर्दै उपाधि रक्षा तर्फ अग्रसर देखिएका छन् । एफएम रुपेशले अघिल्लो २ स्पर्धामा आशिष फुयाल र सिएम पुरुषोत्तम चौलागाईं माथि जीत दर्ता गरेका थिए । २०६७ रेटेड रुपेश आठौं चरण पुछारका धिरेन राई सँग प्रतिस्पर्धामा छन् ।
यस्तै दोस्रो स्थानमा रहेका रिसोन थापाले ५.५ अंक जोडेर शीर्ष खेलाडीलाई पछ्याइरहेका छन्। २०६१ रेटेड रिसोनले यस अघि सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईलाई पराजित गरेका थिए । रिसोन एआईएम अभीक शाहसँग स्पर्धामा छन् । यसैगरी पुर्व नेपाल च्याम्पियन तथा वर्तमान तृतीय राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अंक बनाएर संयुक्त तेस्रो स्थानमा छन् । १९४४ रेटिङ राजनले अभीक र ज्वाला ईम्बुङ दुवै सँग बराबरी खेले ।
युवा २०३४ रेटेड पुरुषोत्तम सिलवालले सुश्रुत दहाल र आशिष् फुयाल सँग बराबरी खेल खेल्दै सम्भावना जिवित राखेका छन् । नेपाल उप विजेता सिएमले पहिलो खेल एफएम रुपेशसँग हार व्यहोरेका थिए । आशिष र मुहान नरसिंह श्रेष्ठको समान ३.५ अंक छ । ज्वाला ईम्बुङको ३ अंक, एआईएम अभीक शाहबो २.५ अंक, सिएम पुरुषोत्तम चौलागाईंको २ अंक, कमल श्रेष्ठको १.५ अंक र धिरेन राईको १ अंक रहेको छ ।
राष्ट्रिय खेलकुद परिषदले गठन गरेको प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा बुधबार महिलातर्फ शीर्ष खेलाडी कृतिसरा अधिकारीले ५.५ अंकका उपाधि तर्फ अगाडि बढेकी छिन् । कृतिसरालाई पछ्याउँदै विनिता कपाली ५ अंक जोडेर दोस्रो स्थानमा उभिएकी छिन्। विनिताले प्रविशा दवाडी र पुनम प्रसाईंलाई हराईन् ।
४ जना महिला खेलाडी समान ४.५ अंक जोडेर प्रतियोगितालाई रोचक मोडमा पुर्याएका छन् । प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी संयुक्त तृतीय स्थानमा छन् । एञ्जल महर्जन र शुशीला गुरुङको समान ३.५ अंक बनेको छ। ईशा गिरि ३ अंक, प्रविशा दवाडी १.५ अंक, नुमा सुब्बा तथा पुनम प्रसाईंको समान १ अंक रहेको छ । ११ चरणको खेल एक आपसमा प्रतिस्पर्धा गरि ओलम्पियाड छनोट तथा राष्ट्रिय शीर्ष वरियता निर्धारण गरिने प्रतियोगिताको अन्तिम ४ चरण बाकी रहेको सदस्य राजु ताम्राकारले जानकारी गराएका छन् ।
