काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतियोगिता सञ्चालन गरिनेछ ।
सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि दशैँअघि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जनाइएको छ ।
आयोजकका अनुसार नेपालीहरूको महान चाड दशैँको ठीक अगाडि लिग आयोजना गर्दा खेलप्रेमी दर्शकहरूलाई चाडपर्वकै माहोलमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा हेर्ने अवसर मिल्ने विश्वास गरिएको छ ।
कभर्डहलको स्तरोन्नति सम्पन्न भइसकेको तथा त्यहाँ हालै काभा महिला भलिबल च्याम्पियनसिपसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना भएकाले यसपटक प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।
