भक्तपुर । बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक प्रायोजना सञ्चालन भइरहेको २० वर्ष मुनिका युवा खेलाडी सम्मिलित दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप प्रतिस्पर्धाको दोस्रो दिन छात्रतर्फ ७ तथा छात्रातर्फ ५ चरणका खेल सम्पन्न भएका छन् ।
भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा जारी तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस स्पर्धाको छात्रतर्फ आफ्ना सबै प्रतिद्वन्द्वीलाई हराउदै एआईएम अभिक शाहले ७ अंक जोडेर अपराजित अग्रता बनाएका छन् ।
प्रतियोगिताका दोस्रो वरियता खेलाडी एरिना इन्टर्नेशनल मास्टर अभिक शाहले उत्कृष्ट खेल प्रदर्शन गर्ने क्रममा सौगात घिमिरे, सुभाङ्ग प्रधान, अनमोल राई, संस्कार थापा, सार्थक श्रेष्ठ, सत्यम शर्मा तथा सिएम पुरुषोत्तम सिलवाललाई पाखा लगाउन सफल बनेका छन् ।
जारी प्रतिस्पर्धात्मक खेलमा ५ जीत र २ बराबरी खेल परिणाम सहित अपराजित ६ अंक जोडेका प्रतीक सुवेदी द्वितीय स्थानमा छन् । प्रतिकले ८ ओैं चरणको खेलमा कालो गोटि लिएर शीर्ष खेलाडी शाहसँग चुनौती पेश गर्नेछन् ।
समान ६ अंकका साथ संयुक्त द्वितीय स्थानमा रहँदै अंकित पौडेलले कडा चुनौती प्रस्तुत गरिरहेका छन्। अंकितले दोस्रो चरणको खेलमा मोहमद जसिम अल सयिदसँग एकमात्र खेलमा पराजय व्यहोर्न पुगेका थिए । जम्मा ९ चरणको खेल हुने राष्ट्रिय जुनियर प्रतियोगिता अन्तिम दुई चरण बाकी रहेको अवस्थामा संगम कटुवाल तथा प्रसान्त गुरुङ दुवै समान ५.५ अंकका साथ संयुक्त तृतीय स्थानमा उभिएका छन् ।
यसैगरी छात्रातर्फ जम्मा ७ चरणको खेल सञ्चालन हुने प्रतिस्पर्धामा ५ चरणका खेलहरु सम्पन्न भएका छन् । २७ छात्रा युवा खेलाडीहरुको बिच अब्बलता प्रदर्शन गर्ने क्रममा राधिका पौडेलले ४.५ अंक जोडेकी छिन् । एकल अग्रता कायम गरेकी अपराजित राधिका पौडेलले उत्कृष्ट खेल पस्कने क्रममा ४ जीत र एक बराबर खेल खेलेका छन् । उनले विपासना केसि, आजस्वी खरेल, एञ्जेल महर्जन र पूर्णिमा गुरुङ माथि लगातार विजय प्राप्त गरे भने प्रज्ञा पन्तसँग एक बराबर खेलेका छन् ।
सम्भावना बोकेका अर्का अनुभवी खेलाडी दानिसा पुरी ४ अंक जोडेर द्वितीय स्थान कब्जा जमाईरहेका छन् । दोस्रो खेलमा एञ्जल महर्जन सँग एक हार व्यहोरेका दानिसा पुरीले छैटौं चरणमा शीर्ष खेलाडी राधिका पौडेललाई चुनौती दिने छन् ।
एञ्जल महर्जन, प्रज्ञा पन्त, उज्जीभनी कँडेल, सनम श्रेष्ठ, प्रिसिओस अधिकारी तथा अनन्या शैंजु गरि ६ जना खेलाडीले समान ३.५ अंक बनाएर संयुक्त तृतीय स्थानमा लामबद्ध बसेका छन् । १०४ जना विभिन्न चेस एकेडेमीका खेलाडी सम्मिलित क्लासिकल ४५ मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ट समयको प्रतियोगिताका विजयी खेलाडीलाई जम्मा नगद रु.१ लाख ५५ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ ।
जस अन्तर्गत छात्रतर्फ प्रथम हुनेले नगद रु. ३० हजार तथा छात्रातर्फ प्रथम हुनेले नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न उमेर समूह युवा १०, युवा १२, युवा १४, युवा १६ र युवा १८ वर्षका उत्कृष्ट खेलाडीहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ । काठमाडौं उपत्यका बाहिरका खेलाडीहरूलाई निःशुल्क बसोबासको व्यवस्था गरिएको आयोजक ललितपुर स्पोर्ट्स क्लबका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
