भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ ।

प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा ललितपुर स्पोर्ट्स क्लबको आयोजना तथा भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापनमा सञ्चालन हुनेछ ।
खेलकुद बिकास परिषद् , बागमती प्रदेशको सहयोग रहेको प्रतिस्पर्धामा नेपालभरि २० वर्षमुनिका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

स्पर्धा वर्ल्ड चेस फेडेरेशनको फिडे लज अफ चेस नियमअनुसार स्विस लिग प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिता ७ देखि ९ चरणसम्म खेलाइनेछ भने प्रत्येक खेलमा ४५ मिनेट समय सहित प्रत्येक चालमा ३० सेकेन्ड इन्क्रिजमेन्ट रहने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका छात्र तथा छात्रा दुई विधामा विजयी खेलाडीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । कुल नगद पुरस्कार राशी  रु. १ लाख ५५ हजार ५ सय रहेको छ ।

ओपन छात्रतर्फ प्रथम हुने खेलाडीले नगद रु. ३० हजार तथा छात्रातर्फ प्रथम हुने खेलाडीले नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न उमेर समूह युवा १०, युवा १२, युवा १४, युवा १६ र युवा १८ वर्षका उत्कृष्ट खेलाडीहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ ।

काठमाडौं उपत्यका बाहिरका खेलाडीहरूलाई जेठ ६ देखि ९ गतेसम्म निःशुल्क बसोबासको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *