विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १९ फाइनलमा पुगेको छ ।
विराटनगरको बैजनाथपुर खेलमैदानमा बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १९ ले वडा नम्बर ११ लाई ७–३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
वडा नम्बर १९ को जितमा मिलन लिम्बू एक्लैले छ गोल गर्दा प्रेम सरदारले एक गोल थपे । वडा नम्बर ११ का लागि बिबेक राईले ह्याट्रिक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलमा छ गोल गरेका मिलन लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १,१११ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनल खेल हुनेछ । जसमा वडा नम्बर १६ र वडा नम्बर १३ बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा जारी प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
