काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यक्रम आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै खेल विकाससँगै विश्वविद्यालयमा छात्रवृत्तिका लागि सहकार्य गरेका हुन् । उक्त समझदारीपत्रमा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका तर्फबाट महासचिव राजकुमार कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालिका तर्फबाट निर्देशक भुवन गिरीले प्रतिनिधित्व गरेका छन् ।
सोही कार्यक्रममा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीलाई एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनयन गरिएको छ । समझदारीपत्रअनुसार विद्यालय खेलकुदको विकास, खेलकुदसँग सम्बन्धित शैक्षिक कार्यक्रमको प्रवर्द्धन, छात्रवृत्ति अवसर विस्तार तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । दुवै संस्थाले विद्यालय तहको खेलकुदलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने लक्ष्यसहित सहकार्य गर्ने जनाएका छन् ।

सम्झौताअन्तर्गत एनएसएसएफले सिफारिस गरेका दुई जना विद्यार्थीलाई ब्रिजले त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान (स्पोर्ट्स साइन्स) विषयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेछ । छात्रवृत्ति एक जना छात्र र एक जना छात्राका लागि हुनेछ । प्रत्येक विद्यार्थीलाई चार सेमेस्टर अवधिका लागि करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको छ । त्यसैगरी, एनएसएसएफले योग्य तथा जेहननदार विद्यार्थीको छनोट र सिफारिस गर्ने जिम्मेवारी वहन गर्नेछ । छात्रवृत्ति वितरण सम्बन्धित शैक्षिक संस्थाको नियम तथा नीतिअनुसार सञ्चालन गरिने जनाइएको छ ।
सम्झौतामा प्रायोजन तथा खेलकुद कार्यक्रम सञ्चालनसम्बन्धी सहकार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ । ब्रिजले एनएसएसएफद्वारा आयोजना गरिने वार्षिक एक खेलकुद प्रतियोगितामा शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) को भूमिका निर्वाह गर्ने सहमति जनाएको छ । साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका अन्तरविद्यालय खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने समझदारी भएको छ । गेम्स, कप, कम्ब्याट गेम्स तथा स्कुल प्रिमियर लिग (एसपीएल) जस्ता प्रतियोगिताहरू सञ्चालनमा सहकार्य गरिने उल्लेख छ ।
ब्रिजले खेल सामग्री, खेल पोसाक तथा विभिन्न शैक्षिक र खेलकुद कार्यक्रमका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन पनि सहमति जनाएको छ। यस समझदारीलाई विद्यालय खेलकुद र खेल शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सम्झौताले प्रतिभाशाली विद्यार्थी खेलाडीलाई उच्च शिक्षामा पहुँच बढाउनुका साथै नेपालमा विद्यालय खेलकुदको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै पढ्ने वातावरण सिर्जना गर्नका लागि पनि ब्रिजले सहयोग सहयोग गर्नु सराहनीय उदाहरण भएको बताए । ब्रिजका निर्देशक गिरीले भने नेपाली खेलकुद विकासका लागि यसअघि पनि काम गर्दै आएको बताएका छन् ।
