टेबलटेनिसमा योङगी पहिलो

२०८३, १२ जेष्ठ मंगलवार १९:३०

काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६, २०२६ सम्म सञ्चालन भएको याङ योङ जा टेबलटेनिस मिसन (वाइटीटीएम) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गत आयोजित वाइटीटीएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

नेपालकी युवा खेलाडी योङ्गी पौडेलले यू–१९ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । उनलाई सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता तथा दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी याङ योङ जाले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । योङ्गीले पुरस्कारस्वरूप नगद १५ हजार नेपाली रुपैयाँ र टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्राप्त गरेकी छन् ।

त्यसैगरी नेपाली टोलीका रिजन शाक्य, रिभान मुनी बज्राचार्य, प्राज्ना महर्जन र सुरम्या शाक्य सहभागी रहेको टिम इभेन्टमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । विजेता टोलीलाई नगद ४० हजार नेपाली रुपैयाँसहित टेबलटेनिस रबर तथा अन्य खेल सामग्री प्रदान गरिएको थियो । नेपालबाट यू–१३ तर्फ रिभान मुनी बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ तर्फ रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ तर्फ हिमाल बिष्ट र योङ्गी पौडेल सहभागी भएका थिए ।

टोली व्यवस्थापकको रूपमा हान्नाको रहेकी थिइन् । प्रशिक्षणका दौरान खेलाडीहरूले दक्षिण कोरियाको राष्ट्रिय प्रशिक्षण केन्द्रको समेत अवलोकन गरेका थिए । अवलोकनका क्रममा उनीहरूले कोरियाका थुप्रै राष्ट्रिय स्तरका खेलाडीहरूसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्ने अवसर पाएका थिए ।

उक्त अवसरले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण वातावरण र खेल संस्कृति बारे थप जानकारी प्राप्त गर्न सहयोग पुगेको टोलीले जनाएको छ । उक्त प्रशिक्षण शिविरको नेतृत्व याङ योङ जा स्वयंले गरेकी थिइन् । सहभागी खेलाडीहरूले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर प्राप्त गरेका थिए ।

प्रतियोगितामा नेपाल, फिलिपिन्स, लाओस र मंगोलियालगायत विभिन्न देशका प्रशिक्षार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल १ सय ५० जना खेलाडी सहभागी भएको टोली व्यवस्थापक हान्ना कोले जानकारी दिएकी छन् । नेपाली खेलाडीहरूको टोली मंगलबार नेपाल फर्कंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *