विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ ।

आज विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेश स्तरीय छनोट प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष तथा प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशका जिल्लाहरूको छनोट प्रतियोगिता जेठ १५ र १६ गते भित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बोर्डका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न बैठकले समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य टिकाराम पुरीले जेठ १८ गते भित्र प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गर्दै सोही दिन १६ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको बिदाई समेत गर्ने निर्णय भएको जानकारी दिए । उनले बैठकमा बजेट संसोधन, गणतन्त्र दिवसमा बोर्डको सहभागिता लगायतको विषयमा समेत छलफल भएको जानकारी दिए ।

लामो समयदेखि पदाधिकारीबिहीन रहेको बोर्डमा जेठ १३ गते मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तथा सदस्यहरूको नियुक्ति भएको थियो । हाल बोर्डमा दुई उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू गरेर ११ जनाको नियुक्ति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *