झापा । झापा स्थित मेचिनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबार देखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिप छनोटका रूपमा प्रतियोगिताको आयोजना गरिएको हो ।
काँकडभिट्टाको नाइट चेस क्लब, स्थानीय व्यवस्थापन रहेको स्पर्धामा देशभरका शीर्ष ७८ जना खेलाडीहरूको सहभागिता रहेको क्लबका अध्यक्ष विश्वविजय घिमिरले जानकारी गराएका छन् । प्रतियोगिताको प्रमुख निर्णायक एफए भुपेन्द्र निरौलाले राष्ट्रिय खेलको फर्म्याट स्विस प्रणालीमा सञ्चालित क्लासिकल खेल समय ९० मिनेट प्रत्येक चालमा थप ३० सेकेन्ड इन्क्रिमेन्ट रहेको बताए ।
खुल्ला तर्फ जम्मा ८ चरणको लिग खेल मध्ये दुई चरण समाप्तिसम्म रिसोन थापा २ अंकसहित शीर्ष स्थानमा रहेका छन् । रिसोन सँगै अंक २ जोडेका सीएम पुरुषोत्तम चौलागाईं, सीएम सुश्रुत दाहाल, आशिष फूँयाल, मुहान नरसिंह श्रेष्ठ, धिरेन राई, सुरोज महर्जन शीर्ष समूहमा छन् । यसै ज्वाला इम्बुङ्ग, कमल श्रेष्ठ, प्रतीक सुवेदी, सिएम नवीन तण्डुकार, मणिराज डाँगी, र सत्यम शर्मा समान २ अंक जोडेर राम्रो शुरुआत गरेका छन् ।
यसैगरी महिलातर्फ पहिलो चरणपछिको नतिजा अनुसार कृतिसरा अधिकारी, शान्ति धिमाल, बिनिता कापाली, पूजा भण्डारी र सुशिला गुरुङले विजयी शुरुआत गरेका छन् । महिला राष्ट्रिय बी खेलमा प्रवीषा दवाडी, लक्ष्मी कँडेल, उज्जीभनी कँडेल, प्रिया क्षेत्री र नुमा सुब्बाले समान १ जीत दर्ता गर्न सफल भएका छन् ।
खुल्ला तथा महिला दुबै विधाका शीर्ष ९ जना खेलाडीले नगद रु. ५ हजार प्राप्त गर्नेछन् भने राष्ट्रिय शीर्ष तिन जना सँग नेपाल च्याम्पियनसीपका लागि राउण्डरोबिन खेल्ने छन् ।
