प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ ।

रामजानकी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न खेलमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमै १२० रनमा समेटियो ।

कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२ रन जोडे । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

बागमतीका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै एक्लै ७ विकेट लिए । उनले कर्णालीको मध्य र तल्लोक्रम ध्वस्त पार्दै खेल एकतर्फी बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो । टोलीका लागि विवेक मगरले ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे । उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

शीर्षक्रममा शिवम तिवारी १८, शुभ कंसाकार २०, पवन थापा २२ र इशान पाण्डे २७ ले राम्रो सुरुआत दिलाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । कप्तान सन्दीप लामिछाने २ रनमै रनआउट भएका थिए ।

कर्णालीका दिवान पुनले ३ विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्छल रावलले समान २–२ विकेट लिए । जितसँगै बागमतीले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *