रामधुनी (सुनसरी) । आयोजक पंचायन फुटबल क्लब (रातो), रामधुनी, सुनसरीले तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीलाई १-० ले पराजित गर्दै पंचायन फुटबल क्लब (रातो) ले अन्तिम चारमा स्थान बनाएको हो ।

पंचायन फुटबल क्लब (रातो) को जितमा युन राईले पहिलो हाफको १०औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच विजेता टोलीका विशाल घलान घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहिवारको पहिलो सेमिफाइनल खेल सिसौली युथ क्लब, बेलबारी, मोरङ र आयोजक पंचायन फुटबल क्लब (निलो), रामधुनी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *