त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।
जनकपुरस्थित रामजानकी मैदानमा सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य २०.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।
आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतकीय इनिङ खेले । भण्डारीले ७५ बलमा पाँच छक्का र १० चौका प्रहार गर्दै शतक बनाए । यसैगरी कुशल मल्लले अविजित २६ रन जोडे ।
सुदूरपश्चिमका शेर मल्ले दुई र मिलन बोहोराले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५० रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ६३ रन बनाए । यसैगरी अभिषेक पालले २४, खडक बोहोराले १३ र अशोक धामीले ११ रन जोडे । सुदूरपश्चिमका अन्य ब्याटर चलेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा आर्मीका बसिर अहमदले पाँच विकेट लिए । यसैगरी साहब आलम र नरेन साउदले दुई÷दुई विकेट लिँदा आकाश चन्दले एक विकेट लिए । जितसँगै आर्मीले तालिकाको शीर्ष स्थानमा कायम राखेको छ । आमीले सात खेलबाट १३ अंक बटुलेको छ । यसैगरी १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा कायम छ ।
