कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।

बिहीबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो । यो जितसँगै लुम्बिनी र एपीएफ समान सात अंक बनाएको पुलिस क्लब नेट रनरेटमा अघि रहँदै चौथो स्थानमा रहेको हो ।

पराजित कर्णाली प्रदेश तीन अंकसहित तालिकाको नवौँ स्थानमा छ । कर्णालीले पीएम कपमा पाचौँ हार भोगेको हो ।

पुलिस क्लबले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४५.२ ओभरमा २१३ रन बनाउँदा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले ४६, सुनिल धमलाले ३४ र विपिन रावलले २८ रन बनाए । दिनेश अधिकारी र कप्तान दिवान पुनले समान १६, विपिन शाहीले १५, प्रकाश जैसीले १४, रविन्दू शाहीले १२ र राज शाहले १० रन थपे ।

पुलिस क्लबका लागि ललित राजवंशीले पाँच विकेट लिए । उनले ९.२ ओभरमा दुई मेडन राख्दै ३६ रन खर्चे । करण केसीले तीन विकेट लिए ।

दिपक चन्द र आरिफ शेखले समान एक विकेट लिए । त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६१ रनको योगफल तयार पारेको थियो ।

पुलिस क्लबका लागि ओपनर दिनेश खरेलले सर्वाधिक ८२ रन बनाए । उनले सय बलमा नौ चौका र एक छक्का हाने । अमित श्रेष्ठले ३० रन बनाए । कप्तान आरिफ शेखले २७, रासिद खानले २४, दिलसाद अलीले २३, करण केसीले २१ र शंकर रानाले एक रन बनाए । कर्णालीका लागि प्रकाश जैसीले तीन विकेट लिए । दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट लिए । दिवान पुनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *