प्रधानमन्ती कप एकदिवसीय राष्ट्रटिय क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले हराउँदै जय ट्रफी एलिट कपमा छनोट भएको छ ।
लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा १९९ रनमै समेटिएपछि लुम्बिनी विजयी भयो ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५.२ ओभरमा २३३ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ७२ रनको उत्कृष्ट इनिङ्स खेले भने प्रज्ज्वल थापाले ४६ र देव खनालले ३७ रन जोडे । सन्तोष यादवले २५ रन योगदान दिए ।
बलिङतर्फ बागमतीका विवेक मगर र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए भने रिजान ढकालले २ विकेट लिए ।
जवाफमा बागमतीको सुरुआत कमजोर रह्यो। टोलीका विवेक मगरले सर्वाधिक ४५ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन् । कप्तान सन्दीप लामिछानेले ३२ रन जोडे भने उत्तम मगरले २३ रन बनाए ।
लुम्बिनीका लागि निर्मल गुरुङ नायक बने । उनले घातक बलिङ गर्दै ५ विकेट लिए । विप्रसन केसी र दिनेश बोहराले २–२ विकेट लिए भने अजय चौहानले १ विकेट हात पारे ।
यो हारसँगै बागमीले यस सिजनको पीएम कप आठौं स्थानमा रहेर अन्त्य गरेको छ ।
