प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि ७ विकेटले सहज जित हात पारेको छ ।
काेशीले दिएकाे १०० रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विवेक मगरले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए, जसमा १० चौका र २ छक्का समावेश थिए ।
प्रतिश जिसीले ५ बलमा १७ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। यसअघि रिङजिन लामाले १७ रन जोडे। कोशीका लागि बिपिन महतोले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश २८.२ ओभरमा मात्र ९९ रनमा समेटियो । कोशीका लागि कप्तान सुजन थपलियाले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रोहन शाहले १८ र अंकित सुबेदीले १९ रन जोडे पनि टोलीलाई ठूलो योगफलतर्फ लैजान सकेनन् ।
बागमतीका बलरमध्ये सन्दीप लामिछानेले ७.२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ऋजन ढकालले २ तथा प्रतिश जिसी र ईशान पाण्डेले समान १–१ विकेट लिए ।
यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।
