काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

प्रतियोगिता आगामी चैत्र २९ गतेदेखि बैशाख ९ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

करिब ९ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यस प्रतियोगितामा देशभरिका १८ वटा प्रतिष्ठित क्रिकेट क्लब तथा एकेडेमीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिता टि–२० फर्म्याटमा खेलाइनेछ। यस प्रतियोगिताले विशेषगरी युवा क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने प्रतियोगिताका टेक्निकल  हेड रबिन्द्र गुप्ताले बताएका छन् ।

प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी हात पार्नेछ। साथै, उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी दिइनेछ भने शतक प्रहार गर्ने वा एकै खेलमा ६ विकेट लिने खेलाडीलाई जनही २,१०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोर्ट्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा) ,नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोर्ट्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब, क्षमादेवी वारियर्स को सहभागिता रहनेछ ।

विशेष रूपमा, प्रतियोगिताको उपाधि विजेता टोलीले आयोजक गौरीशंकर क्रिकेट एकेडेमीसँग वान डे र टु डे प्रतियोगिता खेल्ने अवसर पनि प्राप्त गर्नेछ । दोलखा जिल्लामा हाल फुटबल र भलिबलको लोकप्रियता बढ्दै गए पनि क्रिकेटप्रति आकर्षण अपेक्षाकृत कम रहेको सन्दर्भमा यस प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरमा क्रिकेटप्रति रुचि जगाउनु, नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्नु तथा उनीहरूको प्रतिभा विकास गर्नु रहेको छ। आयोजकले यस प्रतियोगिताले दोलखाका युवाहरूलाई क्रिकेटतर्फ आकर्षित गर्दै भविष्यमा सक्षम खेलाडी उत्पादन गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ । साथै, यसले जिल्लाको समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिता सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *