इटहरी । कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतलाई पराजित गर्दै आयोजक द योङ ब्रदर्श क्लब इटहरी सुनसरी जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आयोजकले कञ्चनजंघालाई ४-२ ले हरायो । आयोजकको जितमा फोफनाले दुई तथा सिजल राई र कोमल खवासले समान एक–एक गोल गरे ।
पराजित कञ्चनजंघाका लागि कुनाल गुरुङ र प्रमेश प्रधानले गोल गरेका थिए । खेलमा आयोजकका सिजल राई म्यान अफ दि म्याच भए । उनले नगद पाँच हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गरे ।
खेल केही समय तनावपूर्ण पनि बनेको थियो । जसमा रेफ्रीले कञ्चनजंघाका गोलरक्षक उदय साह र पुजन सुब्बालाई रातो कार्ड देखाएका थिए । दबाबका बीच खेलेको कञ्चनजंघाले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल केराबारी फुटबल क्लब मोरङ र लोहोरुङ्ग फुटबल क्लब संखुवासभाबीच हुनेछ ।
द योङ ब्रदर्श क्लब इटहरी सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ ।
