सहिद स्मारक महिला लिगमा संकटा फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ ।
ललितपुरको च्यासल रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा संकटाले न्यूरोड टिम ९एनआरटी० लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा दमदार सुरुआत गर्यो ।
संकटाको जितमा विन थेइङ्गी टुन, सुक्रीया मिया, लुसिया लेइला जोसे र क्विनाबेल अकोसुअले समान एक–एक गोल गरिन् ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको संकटाले पाँचौं मिनेटमै विन थेइङ्गी टुनको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि २३औं मिनेटमा सुक्रीया मियाले गोल थप्दै अग्रता दोब्बर पारिन् ।
पहिलो हाफ सकिनुअघि नै लुसिया लेइला जोसे मोकम्बिक्वेले २७औं मिनेटमा गोल गर्दै संकटालाई ३–० को सहज अवस्थामा पुर्याइन् ।
दोस्रो हाफमा पनि संकटाको दबाब कायम रहँदा क्विनाबेल अकोसुअ अमनक्रहले थप एक गोल गर्दै टोलीको जितलाई ४–० मा सुरक्षित बनाइन् ।
यो जितसँगै संकटाले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्दै सुखद सुरुआत गरेको छ भने एनआरटीले हारबाट यात्रा सुरु गरेको छ ।
