प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको कोशी प्रदेश छनोट प्रतियोगितामा सुनसरी जिल्ला विजयी भएको छ ।
सुनसरील इलामलाई ६ विकेटले पराजित गरेको हो । सुनसरीको जितमा विकल्प आचार्यले उत्कृष्ट बलिङ प्रदर्शन गरे ।
पहिले ब्याटिङ गरेको इलाम १३८ रनमा अलआउट भयो । इलामका लागि लभ कामतले ६२ बलमा ४१ रन बनाउँदै टोलीका लागि महत्वपूर्ण योगदान दिए भने सुमित शर्माले ३७ बलमा ३७ रन जोडे । अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ्स खेल्न सकेनन् ।
सुनसरीका लागि बलिङतर्फ विकल्प आचार्यले ४.३ ओभरमा ५ विकेट लिँदै इलामको ब्याटिङ लाइनअप धराशायी बनाए ।
१३९ रनको लक्ष्य पछ्याएको सुनसरीका लागि आकाश सर्राफले ५९ बलमा ६२ रनको उत्कृष्ट इनिङ्स खेले । उनको अर्धशतकको मद्दतमा सुनसरीले लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्दै ६ विकेटको सहज जित निकालेको हो ।
उत्कृष्ट बलिङ प्रदर्शन गरेका सुनसरीका विकल्प आचार्य खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
