इटहरी । संखुवासभाको लोहोरुङ्ग फुटबल क्लब जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा केराबारी फुटबल क्लब मोरङलाई १–० ले निराश बनाउँदै लोहोरुङ्गले फाइनलमा स्थान बनाएको हो ।
लोहोरुङ्गलाई जित दिलाउन बिबेक राईले निर्णायक गोल गरे । उनले खेलको ७४औं मिनेटमा निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच पनि लोहोरुङ्गकै बिनोद राई चुनिए । उनले नगद पाँच हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक द योङ ब्रदर्श क्लब इटहरी सुनसरी र बसाहा क्लब उदयपुरबीच हुनेछ ।
द योङ ब्रदर्श क्लब इटहरी सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
खेलमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ ।
