प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत नारायणी क्रिकेट मैदान वीरगञ्जमा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको छ । 

१६१ रनको लक्ष्य पछ्याएको मधेशले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाउँदै सहज जित निकालेको हो ।

मधेशका लागि अर्निको यादवले अविजित ४६ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए । मोहम्मद आदिल आलमले ३४ रन जोड्दा पवन सर्राफले २१ रन बनाए । कप्तान अनिल साह र मयान यादवले समान १३–१३ रन जोडेका थिए । अन्त्यतिर रुपेश सिंह १६ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए ।

सुदूरपश्चिमका लागि अशोक धामीले ३ विकेट लिए भने शेर मल्लाले २ विकेट हात पारे । अन्य बलर प्रभावशाली बन्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ४३.२ ओभरमा १६० रनमै अलआउट भएको थियो । अभिषेक पालले ३३ रन बनाउँदा किरण ठगुन्ना र नारायण जोशीले समान २३–२३ रनको योगदान दिएका थिए । अशोक धामी १९ रनमा अविजित रहे ।

मधेशका लागि अर्निको यादवले ३ विकेट लिए। प्रदीप पासवानले २ विकेट लिँदा रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन सर्राफले समान १–१ विकेट लिए ।

जितसँगै दुई खेलबाट मधेसले तीन अंक जाेडेकाे छ । समान खेलबाट दुई अंक जाेडेकाे सुदूरले पहिलाे हार ब्यहाेरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *