दिनेश अधिकारीको घातक बलिङसँगै कर्णाली प्रदेशले जारी प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ।

बुधबार सम्पन्न खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो र कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशीले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

कोशीका दीपेश कँडेलले सर्वाधिक २६ रन बनाए । ६६ बल खेलेका उनले एक चौका प्रहार गरे । ओपनर सुमन श्रेष्ठ २० र शिवास बजगाईं २३ रनमा आउट हुँदा अंकित सुवेदी र शकिव हकले समान १७ रनको योगदान दिए ।

कर्णालीका दिनेशले सर्वाधिक ५ विकेट लिए । ८.४ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । दिवन पुन र प्रकाश जैशीले समान २ विकेट राखे ।

जितसँगै कर्णालीले ३ खेलबाट ३ अंक पुर्‍याएको छ । कर्णाली तेस्रो स्थानमा छ । कोशीको भने यो लगातार दोस्रो हार हो । कोशी एक अंकसहित आठौं स्थानमा छ ।

त्यसअघि पहिले ब्याटिङ थालेको कर्णालीले ३९.१ ओभरमा १५१ रनमै अलआउट भएको थियो । 

कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटरहरूले साथ दिन सकेनन् । विपिन रावलले ३२ रन तथा सुनिल धमलाले १९ रनको योगदान दिए । बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न समेत संघर्षरत देखिए ।

बलिङतर्फ कोशीका प्रेम कामतले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । ज्ञानेंद्र श्रेष्ठले ३ विकेट लिँदा सुजन थपलियाले २ तथा विपिन महतोले १ विकेट लिए । कर्णालीको इनिङ्स धराशायी पार्न यी बलरहरू निर्णायक बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *