एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले पुनरागमन जित हासिल गरेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा जावलाखेलले काक्रेबिहार क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा निकोलसले दुई गोल गर्दा बुबाकार र विकास दर्लामीले समान एक–एक गोल गरे । यता काक्रेबिहारका लागि दिपेन्द्र छुनाराले गरेको गोल सान्त्वनामा सीमित बन्यो ।

खेलको छैटौं मिनेटमा दिपेन्द्र छुनाराको गोलबाट काक्रेबिहार क्लबले सुरुआती अग्रता बनाएको थियो । तर त्यसको १० मिनेटपछि जावलाखेल युथ क्लबका बुबाकारले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए । त्यसपछि ६४औं मिनेटमा विकास दर्लामीले अर्को गोल थपे । इन्जुरी समयको चौथो मिनेटमा निकोलसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको ४–१ को शानदार जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *