साउदी प्रो लिग अन्तर्गत २६औं साताकाे खेलमा अल नासरले अल खलिजमाथि प्रभावशाली जित निकालेको छ ।
शनिबार राति खलिजकाे घरेलु मैदानमा सम्पन्न खेलमा अल नासर ५-० ले विजयी भयाे । यो जितसँगै नासरले २६ खेलबाट ६७ अंक पुर्याउँदै शीर्ष स्थान कायम राखेको छ । समान खेलबाट ६४ अंक रहेको अल हिलाल दोस्रो स्थानमा रहेको छ ।
क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा जोआओ फेलिक्सले दुई तथा अब्दुल्लाह अल–हमदान, ऐमान यह्या र एन्जेलो गाब्रिएलले एक-एक गोल गरेका थिए ।
खेलको ३०औं मिनेटमा अल–हमदानले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ५४औँ मिनेटमा यह्याले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
७३औँ मिनेटमा फेलिक्सले गोल थप्दै नासरलाई अझ बलियो स्थितिमा पुर्याए । उनले ७९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
इन्जुरी समयमा अर्थात् ९१औँ मिनेटमा गाब्रिएलले अर्को गोल थप्दै अल नासरको जित ५-० काे अझ फराकिलो बनाए । खेलको क्रममा जोआओ फेलिक्स, ऐमान यह्या र सईद अल हम्सल ले पहेँलो कार्ड पाएका थिए ।
