विभागीय टाेली एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा आइतबार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो ।
यससँगै एपिएफले १७ वटा क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा शीर्ष स्थानका लागि दूरी बढाउने अवसर गुमायो । खेल अवधिभर दुवै तर्फबाट राम्रा अवसर सिर्जना भए । तर, दुवै टोलीले गोल निकाल्न सकेनन् र अंक बाँडेका हुन् ।
समग्रमा भने एपिएफको चौथो बराबरी हो । ११ खेलबाट २५ अंक जोड्दै एपिएफ गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ । सातौं स्थानको टोलीसँग एपिएफको अन्तर पाँच अंक मात्र छ ।
यता, चित्लाङको जारी लिगमा यो पाँचौं बराबरी हो । एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलको चित्लाङले एक मात्र जित पुछारको टोली नव जनजागृतिविरुद्ध निकालेको थियो । त्यसबाहेक बाँकी ११ खेलमा चित्लाङ जितविहीन छ । १२ खेलबाट चित्लाङ ८ अंक जोड्दै १३औं स्थानमा छ ।
