औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिकाको आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा बिहिवार वडा नम्बर २ (ए) विजयी भएको छ ।
गढी खेलमैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा वडा नम्बर ४ लाई ३-१ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ (ए) सेमिफाइनलमा पुगेको हो ।
वडा नम्बर २ (ए) को जितम दिवाकर चौधरी, मनिष चौधरी र दिपक चौधरीले १-१ गोल गरे । वडा नम्बर ४ का लागि सरोज उराउले गोल फर्काए ।
उत्कृष्ट प्रदर्शनका आधारमा वडा नम्बर २ (ए) का दिवाकर चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार बापत् नगद एक हजार रुपैयाँसहित मेडल पाए । उनलाई गढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रभाकर माझीले पुरस्कार हस्तान्तरण गरे ।
आयोजकका अनुसार शुक्रबार (आज) वडा नम्बर ३ र वडा नम्बर १ (बी) बीच खेल हुनेछ । गढी युथ स्पोर्टिङ क्लबको समन्वयमा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ ।
