नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडले एन्फा महिला च्याम्पियनसिपमा आ–आफ्नो खेल जित निकालेका छन् ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा पुलिसले एलसी रियाललाई १०–० को फराकिलो अन्तरले पराजित गर्यो ।
पुलिसको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक गर्दै ६ गोल गरिन् । यस्तै मिना देउवाले २ तथा पूजा राना र विर्शना चौधरीले समान १/१ गोल थपे ।
पुलिसले पहिलो र दोस्रो हाफमा समान ५–५ गोल गर्दै पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा राखेको थियो । जितसँगै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी र एनआरटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, अर्को खेलमा छहारी युवा क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले क्वाटरफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा वर्षा ओलीले गरेको एकमात्र गोल नै चर्च ब्वाइजको जितका लागि पर्याप्त बन्यो ।
जितसँगै चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि अब संकटा फुटबल क्लब सँग प्रतिस्पर्धा गर्नेछ भने छहारीको यात्रा पहिलो खेलबाटै टुंगिएको छ ।
