विराटनगरमा आजदेखि कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विराटनगरस्थित जुटमिल खेलमैदानमा उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लबले विराट भेट्रान्स क्लबलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको २५औं मिनेटमा विराट भेट्रान्सका खेलाडी दीपककुमार भण्डारीले आत्मघाती गोल गरेका थिएन । डि– बक्स भित्रबाट आफ्नै गोलकिपरलाई पास दिन खोज्दा बलले जाली चुमेपछि त्यही गोल नै निर्णायक बन्न पुग्यो ।

जितसँगै आयोजक मिल्सले क्वाटरफाइनलमा पनि स्थान बनाएको छ । खेलको ‘म्यान अफ द म्याच’ आयोजक टोलीका सूर्यबहादुर श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष उद्धव भुजेलले गरेका थिए ।

मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत आइतबार दुईवटा खेलहरु हुनेछन् । पहिलो खेल युनाइटेड भेट्रान्स क्लब विराटनगर र पथरी शनिश्चरे भेट्रान्स क्लबबीच हुनेछ भने दोस्रो खेल हाम्रो इटहरी भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्लब धरानबीच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *