बिर्तामोड (झापा) । आयोजकको टिम झापा-११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
१-० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २-१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १-१ गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।
झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए । झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९ औं मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त बन्यो ।
पाएका सुन्दर अवसरहरु पुलिसले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ३५ औं मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले विफल बनाए । ५२ औं मिनेटमा वीरेन्द्र साहले गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ५७ औं मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर पनि पुलिसले सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिएको छ ।
झापाका एरोन थापा मगरले ४१ औं मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो । टेक्निकल खेल प्रदर्शन गरेको झापाले पुलिसलाई दबाबमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा-११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ ।
यसैबीच, प्रतियोगिताको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् । प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख प्रसाईले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।
आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँधे माध्यम भएको दाबी गरे । उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपालकै उत्कृष्ट खेल मैदान डोमालाल राजवंशी रंगशाला भएको बताउँदै उनले गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।
प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।
