रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा सम्पन्न रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर २ ले जितेको छ ।

शनिबार रंगेलीको दौलतपुरस्थित श्री प्रगतिशिल माविको खेल मैदानमा भएको फाइनलमा निर्धारित समयको खेल २-२ बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा वडा नम्बर २ ले वडा नम्बर १ लाई ५-४ ले हरायो ।

निर्धारित समयमको खेलमा वडा नम्बर २ का लागि भोला मुडियारीले २ गोल गरेका थिए भने वडा नम्बर १ का लागि हरी खवासले २ गोल गरेका थिए ।

जितसँगै वडा नम्बर २ ले ३१ हजार रुपैयाँ र उपविजेता वडा नम्बर १ ले २१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर २ का भोला मुडियारी घोषित भए । उनले नगद ११ सय रुपैयाँसहित ट्रफी पाए ।

त्यस्तै, अमृत गिरी उत्कृष्ट गोलरक्षक, विनोद चौधरी उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोच सहर लाल खवास, उत्कृष्ट मिडफिल्डर योगेश खवास, उदयीमान खेलाडी सुरज मर्डी र हरि खवास सर्वश्रेष्ठ खेलाडी घोषित भए । हरिले १५ सय नगदसहित ट्रफी र अन्य खेलाडीले जनही ११ सय नगद र ट्रफी प्राप्त गरे ।

खेलाडीहरूलाई रंगेली नगरपालिकाका कार्यवाहक मेयर भुमा पराजुली, अन्तर्राष्ट्रिय खेलाडी देवनारायण चौधरी, कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य प्रदीप कुमार भगत माझी, वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास, वडा नम्बर १ का महेश कुमार खनाल तथा प्रगतिशील माविका सहायक प्रिन्सिपल श्याम कुमार राजवंशी लगायतले पुरस्कार प्रदान गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *