काठमाडौं । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
बुधबार समूह चरणका सबै ६ खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
समूह चरणको पहिलो खेलमा मारियो ग्रासरुट क्लबले बोलपुर टाउन क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुआत गर्यो । दोस्रो खेलमा दिलीप मेमोरियल एफसी र एजी–१० फुटबल एकेडेमीबीच रोमाञ्चक ३–३ गोलको बराबरी भयो । तेस्रो खेलमा एजी–१० ले बोलपुर टाउन क्लबलाई ३–० ले हराउँदै महत्वपूर्ण जित दर्ता गर्यो ।
चौथो खेलमा मारियो ग्रासरुटले दिलीप मेमोरियल एफसीलाई ५–१ गोलले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो । पाँचौं खेलमा दिलीप मेमोरियल एफसीले बोलपुर टाउन क्लबलाई ५–३ गोलले हरायो । छैटौं तथा अन्तिम खेलमा मारियो ग्रासरुट र एजी–१० बीच प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकियो ।
समूह ‘बी’का लिग चरणका खेल सकिएसँगै मारियो ग्रासरुट क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा जावलाखेल युथ क्लब, काठमाडौं
किकर्स, एजी–१० फुटबल एकेडेमी र मारियो ग्रासरुट क्लबले स्थान सुरक्षित गरेका छन् ।
मंगलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको प्रतियोगिताको समापन बिहीबार हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ फुटबल एकेडेमी तथा क्लबको सहभागिता रहेको छ ।
