धरान (सुनसरी) । भुटानको रोयल थिम्पु क्लबलाई पराजित गर्दै झापा ११ २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ कवाटरफाइनलमा प्रवेश गरेको हो । धरान रंगशालामा सम्पन्न खेलमा झापा ११ लाई जित दिलाउन सुनिल खड्का र राजेश दाहालले गोल गरे ।
खेलको पहिलो हाफको ३५औं मिनेटमा सुनिलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको झापा ११ का लागि खेलको दोस्रो हाफको १८औं मिनेटमा राजेशले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए ।
थप समयमा गोल हुन नसकेपछि झापा ११ २–० ले विजयी भएको हो । शुक्रबारको खेलको म्यान अफ द म्याच झापा ११ का राजेश दाहाल भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो क्वाटरफाइनल खेल प्लानिङ ब्वाइज युनाइटेड र न्युरोड टीम (एनआरटी) बीच हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
