तरहरा (सुनसरी ) । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको आयोजनामा जारी १२औं हिसान स्पोर्ट्स मिट अन्तर्गत फुटबल खेलमा मंगलबार नमुना कलेज, पिस जोन स्कुल र स्मल हेभन कलेज विजयी भएका छन् ।
पहिलो खेलमा नमुना कलेजले कोशी कलेजलाई ३-० गोलले हरायो । नमुनाको जितमा सुजन उराउले ह्याट्रिकसहित ३ गोल गरे । खेलको म्यान अफ दि म्याच पनि सुजन नै घोषित भए । उनले नगद एक हजारसहित मेडल प्राप्त गरे ।
दोस्रो खेलमा पिस जोन स्कुलले कस्तुरी स्कुललाई १-० गोलले स्तब्ध बनायो । खेलको म्यान अफ दि म्याच निर्जल भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्जलले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।
तेस्रो खेलमा स्मल हेभन कलेजले प्रिमियर कलेजलाई ४-० ले पाखा लगायो । स्मल हेभनलाई जित दिलाउन प्रसान मगरले २ तथा सन्दिप चौधरी र नौसाद अन्सारीले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच स्मल हेभनका प्रसान मगर चुनिए । उनले पनि नगद एक हजारसहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि तीन खेल हुनेछन् । पहिलो खेल लर्ड बुद्घ स्कुल र सिबी कलेज, दोस्रो खेल आरम्भ विधा मन्दिर र कोशी सेन्ट जेम्स स्कुल तथा तेस्रो खेल इम्पेरियल कलेज र विश्व आदर्श कलेजकाबीच हुनेछ ।
