सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । ३-अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारे ।
जयराम २-अन्डर ६६ सहित तेस्रो स्थानमा रहे । १-अन्डर ६७ को स्कोरमा सञ्जय लामा चौथो स्थानमा रहँदा इभन-पार ६८ सहित भुवन कुमार रोक्का, नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान बाँडे । यस्तै १-ओभर ६९ को स्कोर बनाएका भुवन नगरकोटी तथा एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र महेन्द्र फगामीले संयुक्तरुपमा आठौं स्थान बाँडे ।
रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा रामेले दोस्रो होलमा एक सट खेर फाल्दा बाकी आठ होलमा पार बचाए । फ्रन्ट नाइन १-ओभर ३५ खेले । यसपछि ब्याक नाइन बोगी रहित खेल्दै चार होलमा बर्डीको सफलता प्राप्त गरे । उनले १०औं, ११औं, १३औं र १८औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३० मा सकाए ।
रविले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ खेले । उनले पहिलो, नवौं र दशौं होलमा बर्डी प्रहार गर्दा बाकी १५ होलमा पार जोगाए ।
जयरामले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। उनले चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दा तेस्रो, पाँचौं र छैटौं होलमा एक-एक सट खेर फाले । उनी ब्याक नाइनमा सम्हालिए । १०औं होलमा बोगी खेपे पनि १२औं, १३औं र १६औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे ।
एमेच्योरतर्फ राहुल र महेन्द्र १-ओभर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा छन् । राहुलले फ्रन्ट नाइनमा १-ओभर ३५ र ब्याक नाइनमा इभन-पार ३४ खेले । महेन्द्रले भने फ्रन्ट नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे । तर ब्याक नाइन भने ५-ओभर ४९ मा सकाए ।
चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन् । ३६ होलको खेलपछि कट हुनेछ । शीर्ष १८ व्यावसायिक र एमेच्योर खेलाडीहरूले अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गर्नेछन् ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन् । शीर्ष १८ स्थानसम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
