न्युक्यासल युनाइटेडलाई समग्रमा ५-१ ले पराजित गर्दै म्यान्चेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासललाई ३-१ ले पराजित गरेपछि सिटीले समग्रमा ५-१ को नतिजा निकालेको हो । पहिलो लेगको खेल सिटीले २-० ले जितेको थियो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन ओमर मार्मुसले दुई तथा तिजानी रेन्डर्सले एक गोल गरे । न्युक्यासलका लागि एन्थोनी एलाङ्गाले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा मार्मुसले गोल गर्दैं सिटीलाई अग्रता दिलाएका थिए । २९औं मार्मुसले नै पुन: गोल गर्दा सिटी २-० ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि रेन्डर्सले टोलीका लागि तेस्रो गोल गरे । खेलको ६२औं मिनेटमा एलाङ्गाले गोल फर्काएपनि न्युक्यासलको हार टार्न सकेनन् ।
सिटी दशौं पटक लिग कपको फाइनलमा पुगेको हो । सिटीले अब उपाधिका लागि फाल्गुन १० मा आर्सनलको सामना गर्नेछ । आर्सनल चेल्सीलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
