औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा शुक्रबार वडा नम्बर १ (बी) विजयी भएको छ ।
गढी खेलमैदानमा भएको पहिलो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर ३ लाई २-० को गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ (बी) क्वाटरफाइनलमा पुगेको छ।
वडा नम्बर १ (बी) लाई जित दिलाउन मोहम्म्द ओसिम हुसेन र अनिस चौधरीले १-१ गोल गरे । उत्कृष्ट प्रदर्शनका आधारमा वडा नम्बर १ (बी) का मोहम्म्द ओसिम हुसेन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार बापत् गद एक हजार रुपैयाँसहित मेडल पाए । उनलाई गढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रदिप कुमार चौधरीले पुरस्कार हस्तान्तरण गरे ।
आयोजकका अनुसार शनिबार (भोलि) वडा नम्बर १(ए) र वडा नम्बर ६ बीच खेल हुनेछ । गढी युथ स्पोर्टिङ क्लबको समन्वयमा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १ गते हुनेछ ।
