धरान । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक धरान फुटबल क्लबले मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । आगामी बिहिवारदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलो पटक १० वटा टोलीको सहभागिता रहनेछ ।
आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले २२ माघमा हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।
त्यसैगरी माघ २३ गते भुटानको रोयल थिम्पु फुटबल क्लब र झापा–११ फुटबल क्लबबीच खेल हुनेछ । २४ माघमा प्लानिङ ब्वाइज युनाइटेड र न्यू रोड टिमबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, २५ माघमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् ।
त्यसैगरी माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको खेलको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५–२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।
