धरान (सुनसरी) । धरानमा जारी २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको बिहिवार भएको खेलमा झापा-११ लाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगाशालामा चर्च ब्वाइजले टाइब्रेकरमा ३–१ को गोल अन्तरले झापालाई पराजित गरेको थियो । निर्धारित समयमा दुबै टिमबाट २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा झापा-११ का एरोन थापाको पहिलो प्रहार नै चर्च ब्वाइजका गोलकिपर प्रमिजय गच्छदारले रोकेका थिए भने दोस्रो प्रहार प्रशान्त लक्समको मात्र गोलमा परिणत भयो । तेस्रो र चौथो प्रहार गर्न आएका राजेश दाहाल र गौरव धिमालको प्रहार पनि गोलकिपर प्रमिजयले रोकेका थिए ।

चर्च ब्वाइजका सुमित श्रेष्ठको पहिलो प्रहार पनि झापाका गोलकिपर मनोज गुरुङले रोकेका थिए । तर, एरिक बिष्ट, रोहन कार्की र सुदिप श्रेष्ठको प्रहार गोलमा परिणत भएपछि चर्च ब्वाइज लगातार दोस्रो पटक बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको हो ।

त्यसअघि खेलको पहिलो हाफको तेस्रो मिनेटमा मिलन राईले एक गोल गर्दै चर्च ब्वाइजको पक्षमा खाता खोलेका थिए । निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफकै १७औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी अबोयमी फकुल्नेले गोल गर्दै खेललाई २-० अन्तरमा पुर्‍याएका थिए ।

पहिलो हाफको २८औं मिनेटमा चर्च ब्वाइजका अभिषेक लामाले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो । दोस्रो हाफको २१औं मिनेटमा एरोन थापाले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

चर्च ब्वाइजले अब उपाधिको लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसँग भिड्नु पर्ने छ । बुधबारको खेलमा पोखराको लालीगुराँस फुटबल क्लब पराजित गर्दै प्लानिङ ब्वाइजले फाइनलको स्थान तय गरेको हो ।

बिहीबारको खेलमा चर्च ब्वाइजका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *