पोखरा । आयोजक टिम सहारा क्लब कठिन जित निकाल्दै पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सडेन डेथमा ६–५ ले पराजित गर्दै सहराले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । थप गरिएको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा पुलिसका राम वाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक दिपेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेन डेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै दिपेन्द्रले टोलीलाई सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले । उनले खेलभर पुलिसका धेरै प्रहार बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसअघि निर्धारित समयको खेलमा पुलिस क्लबले ४९औं मिनेटमा राम वाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६०औं मिनेटमा सहाराले पाएको पेनाल्टीलाई मुकुन्द निउरेले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ द म्याच विजेता टिम सहारा क्लबका गोलकिपर दिपेन्द्र थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

भोलि आइतबार दोस्रो क्वार्टरफाइनल जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेडकाबीच हुनेछ । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *