नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा सतिसाले फुटबल क्लब, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा खेलमा बेलबारी फुटबल क्लब, मोरङलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सतिसाले उपाधि नजिक पुगेको हो ।

खेलमा अग्रता भने बेलबारीले लिएको थियो । रोहन गुरुङले खेलको पहिलो हाफमा गोल गर्दै बेलबारीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ शुरु भएको पहिलो मिनेटमै सतिसालेले गोल फर्कायो । सतिसालेका लागि भुवन बस्नेत बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा बेलबारीका सन्दिप कार्कीले प्रहार गरेको बल बाहिरियो भने निकित मगरको प्रहार सतिसालेका गोलरक्षकले बचाए ।

खेलको म्यान अफ दि म्याच शतिसालेका सबिन घिमिरे घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार नक्सलबारी फुटबल क्लब, मोरङ र लेटाङ फुटबल क्लब, मोरङबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *