फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन स्वप्निल भट्टराई ओभरअलतर्फ शीर्षस्थानमा रहेका छन् । रुबेन थापा दोस्रो स्थानमा रहँदा प्रकृत तामाङ र सोहम अग्रवाल संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन ब्वाइज १७ देखि २१ वर्ष उमेर समुहमा स्वप्निल ३ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । उनले आज ३-ओभर ७१ को स्कोर बनाए । उनले पहिलो, तेस्रो र छैटौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए । यसपछि १० औं र १३ औं होलमा पनि बर्डी प्रहार गरे। तर १४ औं र १६ औं होलको एक-एक सट खेर फाल्दै ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे ।
प्रकृत ६-ओभर ७४ सहित दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन २-ओभर ३६ मा सकाए । सत्यजोत राना र सिद्धान्त सापकोटा संयुक्तरुपमा तेस्रो स्थानमा छन्। उनीहरूले ११-ओभर ७९ स्कोर गरे ।
ब्वाइजको ११ देखि १६ वर्षको उमेर समुहमा रूबेन थापा शीर्षस्थानमा छन् । उनले आज ५-ओभर ७३ को स्कोरमा सोहम अग्रवाललाई १ स्ट्रोकले पछि पारेका छन् ।
रूबेनले फ्रन्ट नाइन ३-ओभर ३७ मा पुरा गरे । उनले पहिलो होलमा बोगी र तेस्रो होलमा ट्रीपल बोगीको सामना गर्दा छैटौं होलमा एक सट बचाए । यसपछि १० औं होलमा डबल बोगी तथा ११ औं र १७ औं होलमा बोगी खेपे । १४ औं होलको इगलले ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे ।
सोहम ६-ओभर ७४ सहित दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन ५-ओभर ३९ मा सकाए । ड्यानियल बानियाँ तेस्रो स्थानमा छन् । उनले ९-ओभर ७७ स्कोर गरे । फ्रन्ट नाइन ६-ओभर ४० र ब्याक नाइन ३-ओभर ३७ खेले ।
महिलातर्फ अवानी राई शीर्षस्थानमा छिन् । आज उनले ९-ओभर ७७ को स्कोरमा बेलायतकी एमिलि लो ग्लुडाइसलाई ३ स्ट्रोकले पछि पारिन् । अवानीले फ्रन्ट नाइन ४-ओभर ३८ र ब्याक नाइन ५-ओभर ३९ मा सकाइन् ।
एमिलि १२-ओभर ८० को स्कोरमा दोस्रो स्थानमा रहिन् । यश्वी श्रेष्ठ १९-ओभर ८७ सहित तेस्रो स्थानमा रहेकी छिन् ।
नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा कुल ४१ खेलाडीको सहभागिता रहेको छ । यो प्रतियोगिताको तीन क्याटगरीका विजेता खेलाडी भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज ग्रान्ड फाइनलको लागि छनोट हुनेछन् ।
